एमाले कैलाली अध्यक्षमा थापा, पाण्डे र चन्दको दाबी, सहमतिको प्रयास हुँदै

एमाले कैलाली अध्यक्षमा थापा, पाण्डे र चन्दको दाबी, सहमतिको प्रयास हुँदै

धनगढी । नेकपा (एमाले) कैलालीमा नेतृत्व दाबी गर्नेहरूबीच सहमति जुट्न सकेको छैन । वर्तमान अध्यक्ष रतन थापा पुनः अध्यक्षमा दोहोरिने बताइरहेका छन् । उनीबाहेक उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेका छन् ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने सम्भावना बढेको छ ।

एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट र कैलाली इन्चार्ज नरदमुनि रानाले यसअघि नै सहमतिको आधारमा नेतृत्व चयन गर्न सुझाव दिइरहेका थिए ।

तर, अहिलेसम्म अध्यक्षमा दाबी गरेकाहरूबीच सहमति हुन सकेको छैन । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् । एमालेले शुक्रबार ६१ वटा जिल्लामा अधिवेशन सुरु गरेको थियो । ती जिल्लामा नयाँ नेतृत्व चयन भइरहेको छ ।