सुदूरपश्चिममाथि नेपाल पुलिसको रोमाञ्चक जित

सुदूरपश्चिममाथि नेपाल पुलिसको रोमाञ्चक जित

आरिफ शेखले कसिलो बलिङ गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रि क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक विजय हासिल गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । 

अन्तिम ओभरमा सुदूरपश्चिमलाई जित्नका लागि ६ रनको आवश्यकता थियो । क्रिजमा सुदूरपश्चिमका हेमन्त धामी ३ र विकाश अग्रीले शून्य रनको स्थितिमा थिए । करण केसीले अन्तिम ओभरमा तीन रनमात्र दिएपछि नेपाल पुलिस क्लबले दुई रनको रोमाञ्चक जित निकालेको हो । 

आरिफले चार ओभरमा ९ रन दिएर चार विकेट लिएका थिए । करण, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिए । सुदूरपश्चिमका लागि ओपनर गजेन्द्र बोहराले २७, नारायण जोशीले २२ र खडक बोहराले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसअघि पुलिस क्लबका लागि ओपनर कुशल भुर्तेलले २१ र पवन सर्राफले २० रन जोडे । आरिफ शेखले १० रन जोड्नु बाहेक पुलिसका अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले समान तीन विकेट लिए । शेर मल्लको नाममा दुई विकेट रह्यो । आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८३ रनले हराएको थियो ।आजै दोस्रो खेलमा एपीएफले प्रदेश दुई तथा बागमतीले लुम्बिनी प्रदेशविरुद्ध खेल्नेछ ।