सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । तर, खोप कार्ड बोक्न भने अनिवार्य गरिएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार मोबाइलमा खोप कार्डको फोटो मात्रै देखाए पनि पुग्छ । कोरोना संक्रमितहरूको संख्या बढ्दै गएकोलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका तीनैवटा प्रशासन कार्यालयले यस्तो निर्देशन जारी गरेको हो ।

तीनवटै प्रशासन कार्यालयको मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन ‘स्मार्ट लकडाउन’ अवधारणामा संयुक्त आदेश जारी गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आर्थिक गतिविधि नरोकिने गरी निर्देशन जारी गरेको जिकिर गर्नुभयो ।

सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको थियो । सोही आदेशानुसार प्रशासनले निर्देशन जारी गरेको हो । आदेशअनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ । सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि निर्देशन दिइएको छ । प्रशासनले राजनीतिक भेला तथा महोत्सवमा रोक लगाएको छ । अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले भनेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कार्यक्रम नगर्न समेत निर्देशन दिएको छ ।

त्यसै गरी सार्वजनिक सवारीसाधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ । प्रशासनले जारी गरेको निर्देशनअनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रूपमा सवारी साधनलाई सेनिटाइज गर्नुपर्ने निर्देशनमा उल्लेख छ । संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि निषेधाज्ञा लगाइने हो कि भन्ने चिन्ता आमसर्वसाधारणमा देखिन थालेको छ ।