बारम्बार बुस्टर डोज लगाउनु राम्रो रणनीति होइनः डब्ल्यूएचओ

बारम्बार बुस्टर डोज लगाउनु राम्रो रणनीति होइनः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ नियन्त्रणको लागि भन्दै बुस्टर डोज मात्र थप्दै जानु राम्रो रणनीति नभएको बताएको छ।

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट बच्न भन्दै विश्वका केही मुलुकले बुस्टर डोज थप्दै जाने योजना सार्वजनिक गरिरहेको अवस्थामा डब्ल्यूएचओको प्राविधिक सल्लाहकार समूहले यस्तो बताएको हो। 

मंगलबार डब्ल्यूएचओका विशेषज्ञहरूले बारम्बार कोरोना खोप लगाउने रणनीति विश्वसनीय नहुने बताएका हुन्। कोरोना खोप संक्रमणबाट सबैभन्दा प्रभावकारीरुपमा कसरी बच्न सकिन्छ भन्ने ख्याल गरेर लगाउनुपर्ने उनीहरुको भनाइ छ।

उनीहरुले सकेसम्म बुस्टर डोज वा कोरोना खोपको डोज घटाउनुपर्ने गरी खोप लगाउने रणनीति ल्याउनुपर्नेमा जोड दिएका छन् । यसरी बारम्बार कोरोना खोपको बुस्टर डोज दिने रणनीतिले लामो समयसम्म काम गर्न नसक्ने उनीहरुको भनाइ छ।

उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा खोप निर्मातालाई पनि गम्भीर बिरामीबाट बचाउने मात्र नभई संक्रमणबाटै बचाउने किसिमको खोप विकास गर्न आग्रह गरेका छन्।

त्यस्तो खोप विकास नहुँदासम्म कोरोना संक्रमण फैलिइ नै रहने र खोप पनि थप प्रभावकारी बनाउँदै जानुपर्ने अवस्था आउने विशेषज्ञहरूको भनाइ छ।