दार्चुलामा पनि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

दार्चुलामा पनि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

दार्चुला । आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोना खोप कार्ड अनिवार्य गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । अब सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने छ ।

खोप कार्ड मोबाइलमा खिचेर राखेको भएपनि हुनेछ । गृहमन्त्रालयले खोप कार्ड अनिवार्य कार्यान्वयन गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको निर्देशन बमोजिम यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । बढ्दो रुपमा रहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सीमा नाकामा निगरानी बढाइने भएको छ ।

भारतसँग सीमा जोडिएका नाकाहरुबाट भित्रने नागरिकहरुको अनिवार्य एन्टिजेन परिक्षणको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै जिल्लाको मूख्य नाका नेपाल–भारत जोड्ने खलंगा पुलघाटमा यसअघि देखि जारी रहेको खोप अभियानलाई निरन्तरता दिने, स्थानीय तहको समन्वयमा सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेष्ट बुथ स्थापना गर्ने र नियमित परिक्षण गर्ने बैठकले निर्णय गरेका छन् ।

कोरोना पोजेटिभलाई आइसोलेशनमा राख्न स्थानीय तहलाई कम्तिमा एउटा संस्थागत आइसोलेशन संचालन गर्न भनिएको छ । साथै दार्चुला जिल्ला अस्पतालमा एउटा सुविधा सम्पन्न एम्बुलेन्स व्यवस्थाका लागि सुदूरपश्चिम सरकार, सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । पछिल्लो समय दार्चुलामा कोरोना संक्रमण दिनहू जसो बढिरहेको छ ।