आमा सुरक्षा कार्यक्रम रकम अभावमा सञ्चालन गर्न समस्या

आमा सुरक्षा कार्यक्रम रकम अभावमा सञ्चालन गर्न समस्या

धनगढी : सरकारले सुत्केरीलाई दिने यातायात खर्चबापतको रकम दोब्बर बनाउँदा विभिन्न अस्पतालमा रकम अभाव हुन थालेको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारी अस्पतालमा सुत्केरी हुँदा यातायात खर्च तराई, पहाड र हिमाली भेगमा क्रमशः एक हजार, दुई हजार र तीन हजार रुपैयाँ दिइँदै आएको छ ।

स्वास्थ्य संस्थालाई दिइने बजेट नबढाएरै सेवाग्राहीहरुलाई दिने रकम मात्रै बढाइएपछि स्वास्थ्य संस्थाहरुसित रकम अभाव हुन थालेको छ । संघीय सरकाको घोषणा अनुसार सेवाग्राहीहरुलाई प्रोत्साहन रकम दिइरहेकका स्वास्थ्य संस्थाहरुसित यसपछि अस्पतालमा आउने सुत्केरी आमाहरुलाई प्रोत्साहन रकम दिन रकम अभाव हुने स्थिति बनेको स्वास्थ्य संस्थाहरु जनाएका छन् ।

आमा सुरक्षा कार्यक्रमका लागि मात्रै प्रदेशभरीका लागि १३ करोड रुपैया अपुग रहेको छ । संस्थागत सुत्केरी बढाउन सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रम रकम अभावमा सञ्चालन गर्न समस्या उत्पन्न भएको छ ।

यस कार्यक्रमका लागि सरकारले सुदूरपश्चिमका अस्पताल र स्वास्थ्य संस्थाहरुका छुट्ट्याएको रकम चालू आर्थिक बर्षको पहिलो चार महिनाममै सकिएको छ । सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालका लागि संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराएको ३ करोड २८ लाख चार महिनामै सकिएको छ ।

संघीय सरकारले उपलब्ध गराएको रकम सकिएकोले अस्पतालहरुमा यस्तो कार्यक्रम संचालन गर्न समस्या देखिएको हो । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य  महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सेवाग्राहीले पाउने सुविधा दोब्बर बनाइए पनि बढाइएको सुविधा अनुसार बजेट उपलब्ध नहुँदा ब्यवस्थापनमा समस्या रहेको छ ।

संघीय सरकारले अन्य अस्पताल र स्वास्थ्य केन्द्रहरुमा पठाउनुपर्ने रकम सम्बन्धित स्थानीय तहमा पठाएको छ । मातृशिशु मृत्युदर घटाउन घरमा सुत्केरी हुने संख्या कम गर्नुपर्ने भएकोले प्रोत्साहन भत्ता दोब्बर पार्ने निर्णय गरे पनि त्यसअनुसार अर्थ मन्त्रालयबाट बजेट विनियोजन नहुदाँ समस्या भएको कार्कीले बताए ।

संघीय सरकारको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुदुरपश्चिम प्रदेश सरकारले समेत आमा सुरक्षा कार्यक्रमका लागि मात्रै सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालका लागि ६० लाख रकम बिनियोजन गरेको छ ।

यो रकम समेत सकिकए पछि  माघ २३ गते पछि सुतकेरी हुन अस्पताल भर्ना भएका महिलाहरुलाई प्रोत्साहन रकम नदिइएको सेती अस्पतालको स्त्री तथा प्रसुति रोग बिभागकि नर्सिङ इञ्चार्ज सुनिता खत्रीले बताइन् । उनले अस्पतालले यो अवधिमा सुत्केरी भएका महिलाहरुको नाम र सम्पर्क टेलिफोन नम्बर राखेर अस्पतालमा पैंसा आएपछि लिन बोलाउने गरि डिस्चार्ज गर्ने गरिरहेको बताइन् । 

हाल स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गर्ने गर्भवति महिलाले पाउने ४ पटकको ४ सय रुपैयाँ रकम बढेर ८ सय पुगेको छ । सेती अस्पतालमा चालु आर्थिक बर्षको हालसम्म ४ हजार १ सय ६० जना महिलाहरुले प्रसुति सेवा लिएका छन भने २ हजार ७ सय  ५८ जनाले गर्भ जाँच गराएका छन ।

सेती अञ्चल अस्पतालमा रकम अभाब हुदाँ सरकार सँग ३ करोड बजेट माग गरेको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।सुदूरपश्चिम प्रदेशका सबै स्वास्थ्य संस्थालाई सेवा सञ्चालन गर्न चालू आर्थिक बर्षमा मात्रै २९ करोड ३६ लाख रुपैया अपुग छ ।

आमा सुरक्षा कार्यक्रमको लागि मात्रै १३ करोड अपुग रहेको छ । यो रकम उपलब्ध गराउन पटक पटक पत्राचार गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।