‘लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति र नेपाल सरकारको मौनता आपत्तिजनक’

‘लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति र नेपाल सरकारको मौनता आपत्तिजनक’

विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी मोदीको उक्त अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता र लाचारी पनि आपत्तिजनक बनाएको बताएका छन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ’ उनले विज्ञप्तिमा भनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गरेको भन्दै विवेकशील साझा पार्टीले नेपाल सरकारले भारतको मिचाहा प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएको छ ।

यदि भारतको यो प्रवृत्तिको मिचाहा प्रवृत्तिको प्रतिवाद गर्न नसक्ने हो भने दूरगामी असर भोग्नुपर्ने विवेकशील साझा पार्टीले उल्लेख गरेको छ ।