धनगढीबाट नेपालगञ्ज सारेर वायुयान संग्रहालय सञ्चालन

धनगढीबाट नेपालगञ्ज सारेर वायुयान संग्रहालय सञ्चालन

नेपालगञ्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) शनिवारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । 

१ दशकदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको वायुयान संग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रस्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको संग्रहालय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ । ९ वर्षअघि धनगढीमा डेढ करोड रुपैयाँ लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको संग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुुर्‍याउन करीब ३० लाख रुपैयाँ थप लगानी भएको छ ।

ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई संग्रहालय बनाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका– १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित संग्रहालय राखिएको छ ।

उपमहानगरपालिकाको सहमतिमा वायुयान संग्रहालयका लागि करीब ७ कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।