कोरोनाको तेस्रो लहर नियन्त्रण गर्न यस्तो छ सरकारको एक महिने आदेश

कोरोनाको तेस्रो लहर नियन्त्रण गर्न यस्तो छ सरकारको एक महिने आदेश

सरकारले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताइन्। 

उनका अनुसार कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेकाले नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिन नदिन एकमहिने आदेश जारी गरिएको हो।

मन्त्रिपरिषदद्वारा जारी आदेशमा आगामी माघ मसान्तसम्म सार्वजनिकस्थलमा भीड गर्न निषेध, आमसभा, जुलुस र सभा सम्मेलनमा प्रतिबन्ध, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी जान नपाइने जस्ता कुरा समेटिएको छ।

मन्त्रिपरिषद्को आदेशमा सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गराउन पनि मातहत निकायलाई निर्देशन गरिएको छ । मन्त्रिपरिषद्ले विद्यालय र कलेजका पठनपाठन भर्चुअल माध्यमबाट अघि बढाउने निर्णय पनि गरेको छ। 

शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयले दोस्रो डोज पूरा गरिसकेका अग्रपंक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितलाई भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको थियो।

बुस्टर डोज ६० वर्षभन्दा माथिका नागरिकलाई पनि यही माघ १४ गतेदेखि दिइने भएको छ। सरकारले खोप अभियानलाई पनि अझै तीव्र बनाउने भएको छ।