ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

अमेरिकाले शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । 

बेइजिङ शीतकालीन ओलम्पिकअघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडान नहुने सम्भावना बढेको समाचार संस्था सीएनएनले जनाएको छ । बेइजिङ शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी ४ देखि सुरु हुँदैछ । बेइजिङले कोरोना सङक्रमण जोखिमलाई लिएर स्वास्थ्यका मापदण्ड लागू गरेको छ । अहिले ओलम्पिकमा सहभागी हुनेहरुले अहिले विशेष उडानहरू लिइरहेका छन् । 

गएको जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । ‘सर्किट ब्रेकर’ अनुसार यदि पाँच वा बढी यात्रुले चीनमा अवतरण गर्दा जाँचपछि कोरोना परीक्षण पोजेटिभ देखिए उडान दुई हप्ताका लागि स्वचालित रूपमा निलम्बन हुन्छ । 

यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि त्यसै अनुसार बढ्छ । यो नियम चिनियाँ र विदेशी एअरलाइन्स दुवैमा समान रूपमा लागू भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले गएको अगस्टमा बताउनुभएको थियो ।