सुदूरपश्चिममा ‘बुस्टर डोज’ अभियान सञ्चालन गर्न कठिन, खोपको मौज्दात शून्य

सुदूरपश्चिममा ‘बुस्टर डोज’ अभियान सञ्चालन गर्न कठिन, खोपको मौज्दात शून्य

कोरोना भाइरस विरुद्धको बुस्टर डोज अभियान सञ्चालन भए पनि सुदूरपश्चिममा खोपको मौज्दात शून्य छ। पूर्ण खोप लगाएको ६ महिना पुरा भएकाले बुस्टर डोज लगाउनु पर्ने भए पनि प्रदेशमा उपलब्ध नहुँदा समस्या भएको छ। 

विगतमा खोपको मौज्दात रहेकामा केही व्यक्तिलाई बुस्टरको रुपमा डोज लगाइएको भए पनि थप खोप आउन सकेको छैन। प्रदेश सरकारले माग गर्दा पनि खोप उपलब्ध नभएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका राजेन्द्र अवस्थीले बताए। ‘हामीले थप खोप माग गरेका छौं। अहिलेसम्म आएको छैन’ उनले भने। कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन फैलिने खतरा बढेका बेला बुस्टर डोज आवश्यक छ। चिकित्सकहरुले पनि ओमिक्रोनको संक्रमणबाट जोगिन बुस्टर डोज अनिवार्य रहेको सुझाव दिएका छन्।

तर सुदूरपश्चिममा भने अहिले बुस्टर डोज उपलब्ध छैन। विगतमा पनि प्रदेशको सम्पूर्ण जनसंख्याले कोरोना विरुद्धको खोप लगाउन पाएका थिएनन्। अहिले खोप उपलब्ध गराउन भइरहेको ढिलाइका कारण संक्रमणको प्रभाव बढी देखिने सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले बताए। ‘बुस्टर डोज लगाउनु राम्रो हो। यसले असर गर्छ भन्ने भ्रम मात्रै हो। खोप अनिवार्य रुपमा लगाउनुपर्छ’, उनले भने।

अहिले भारतबाट फर्किनेहरु मध्ये अधिकांशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेको छ। तर प्रदेशलाई आवश्यक पर्ने खोप भने आइपुगेको छैन। जसकाकारण कोरोना भाइरस फेरि समुदाय स्तरमा फैलिने जोखिम छ। यसबाट पनि प्रदेशवासीलाई जोगाउनका खोपमा बढी पहल गर्नुपर्ने देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने आइतबारदेखि बुस्टर डोज अभियान सञ्चालन भएको बताए। उनी भन्छन्, ‘भएको ठाउँमा खोप लगाउन भनेका छौ। संघीय सरकारसँग माग गरेको खोप भने आएको छैन।’