चोरेर प्रमुख नियुक्त, बझाङको सुनकुडा क्याम्पसमा लफडा

चोरेर प्रमुख नियुक्त, बझाङको सुनकुडा क्याम्पसमा लफडा

बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुख लगायतका कर्मचारीबीच विवाद चर्किएको छ। 

क्याम्पसमा नयाँ प्रमुख नियुक्ति गरिएपछि विवाद उत्पन्न भएको हो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेशबहादुर अधिकारीले मनोमानी र एकलौटी ढगंले क्याम्पस प्रमुख नियुक्त गरेको आरोप लागेको छ। यस अघिका क्याम्पस प्रमुख इन्द्रबहादुर बिष्टको समयावधि सकिएको भन्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा चक्रबहादुर ढाँटलाई नियुक्त गरेका थिए। ढाँटलाई नियुक्त गरेपछि विवाद झन चर्किएको हो।

विष्टले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा ढाँटलाई छलकपटपूर्ण तरिकाले नियुक्त गरेको आरोप लगाएका छन्। ‘असोज २१ गते अध्यक्ष रमेश अधिकारीले मलाई २ जना आफु निकटका मान्छेलाइ कर्मचारी भर्ना गर्न प्रस्ताव राखेका थिए। तर, मैले त्यो अस्वीकार गरे। मैले अस्वीकार गरेपछि अध्यक्षले स्वार्थ पुरा गर्न छलकपटपूर्ण तरिकाले मलाइ हटाएर नयाँ प्रमुख नियुक्त गरे।

खास विवादको मुल कारण यही नै रहेको उनी बताए। गत पुष २५ गते सो क्याम्पसमा क्याम्पस सञ्चालक समितिको बोलाइएको बैठक स्थगित भएको थियो। बैठक स्थगित भए पनि केही व्यक्तिहरुले बैठक सञ्चालन गर्न खोज्दा समेत ती व्यक्तिहरुलाई घर पठाइएको उनले बताएका छन्। 

तर, रातिको समयमा अध्यक्ष अधिकारीले क्याम्पसको छाप र लेटरप्याड चोरेर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको बिष्टले आरोप लगाएका छन्।