अग्रपंक्तिमा खटिनेहरुलाइ बुस्टर खोप दिदै, क-कसले पाउँछन् बुस्टर खोप ? कति समयअबधिमा लगाउने ?

अग्रपंक्तिमा खटिनेहरुलाइ बुस्टर खोप दिदै, क-कसले पाउँछन् बुस्टर खोप ? कति समयअबधिमा लगाउने ?

सरकारले सोमबारदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुका लागि कोरोनाविरुद्धको बुस्टर खोप दिन थालेको छ ।
अग्रपंक्तिमा खटिने व्यक्तिहरुको सूची तयार पारेर सरकारले खोप दिन सुरु गरेको हो ।

अग्रपंक्तिमा खटिने व्यक्तिहरुको सूचीमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, फोहोर संकलन तथा सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वयम्सेविका, त्रिभुवन विमानस्थलमा खटिने कर्मचारी, सार्वजनिक क्षेत्र वा सरकारी कार्यालयमा कार्यरत कर्मचारी, बैंकका कर्मचारी, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक रहेका छन् ।

दोस्रो खोप लगाएको कति समयपछि बुस्टर लगाउने ?

सरकारले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई माघ २ देखि र ६० वर्षमाथिका सबै नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई माघ १४ गतेदेखि खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिले जुन खोप लगाएको हो सोही खोपको बुस्टरमात्रा दिइँदैछ ।

खोप लगाउन जाँदा के के लैजाने ?

दुवै मात्रा खोप लगाएको खोप कार्ड, अग्रपंक्तिमा खटिने कर्मचारीके हकमा आफू कार्यरत संस्थाले प्रदान गरेको परिचयपत्र, रोग प्रतिरोधात्मक क्षमता कम भएकाको हकमा उपचार गराइरहेको वा औषधी सेवन गरिरहेको अस्पतालको पूर्जा र ६० वाक्ष् माथिकाको हकमा उमेर खुल्ने परिचयपत्र लिएर खोप लगाउन जानुपर्ने सरकारले जनाएको छ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुभित्र को को पर्छन् ?

सक्रिय क्यान्सर रोगीहरु
एचआईभी भएका बिरामीहरु
अंग प्रत्यारोपण गरेका बिरामीहरु
उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामीहरु