रक्सी खाएर कैलालीमा स्थानीयसँग झगडा गरेका मेजर बर्खास्त

रक्सी खाएर कैलालीमा स्थानीयसँग झगडा गरेका मेजर बर्खास्त

धनगढी । कैलालीमा स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) जागिरबाट बर्खास्तीमा परेका छन् । रक्सी खाएर हतियारसहित ब्यारेकबाट निस्किएका मेजर अशोक शाहीलाई सैनिक अदालतले बर्खास्त गर्ने फैसला गरेको हो।

कात्तिक २१ गते चिसापानीको होटल संगममा शाही र होटलसञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो।

सुरुमा ग्राहकसँग झगडा गरेका शाही पछि ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न पुगेका थिए। शाही सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत थिए। उनलाई सैनिक आचरण विपरित काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।  

रातको ११ बजे संगम होटलमा पुगेका मेजरले पछि ब्यारेक फर्किएर गेटमा ड्युटी गरिरहेका सैनिकलाई समेत हतियारसहित लिएर गएका थिए। उनी पुनः होटलमा पुगेपछि घटना थप चर्किएको थियो।

त्यसक्रममा मेजर शाहीको टाउको फुटेको थियो। उनको गाडी समेत तोडफोड भएको थियो । उक्त घटनाको अनुसन्धानका लागि एक सहायक रथीको संयोजकत्वमा सैनिक जनरल गठन गरी नेपाली सेनाले कोर्ट मार्सल गरेको थियो।