महाकाली अस्पताल र प्रशासन कार्यालयका कञ्चनपुरले पनि अत्यावश्यकबाहेकका सेवाहरू बन्द

महाकाली अस्पताल र प्रशासन कार्यालयका कञ्चनपुरले पनि  अत्यावश्यकबाहेकका सेवाहरू बन्द

कञ्चनपुरमा दैनिक संक्रमित हुनेको संख्या करिब २ सयको हाराहारी छ । जसमध्ये आधा गड्डाचौकी नाकामा र बाँकी जिल्लाभित्र नौवटै पालिकामा देखिने गरेका छन् । जिल्लामा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा संक्रमित देखिएका छन् । दैनिक ६० र ७० जनामा संक्रमण पुष्टि भइरहेको छ ।

शुक्रबार कञ्चनपुरमा २०१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भीमदत्त नगरपालिकामा ७६ र गड्डाचौकी नाकामा ७४ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयकाअनुसार शुक्रबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९३ पुगेको छ । सक्रिय संक्रमितमध्ये २३ जना मात्रै संस्थागत आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा छन् । उनीहरूले होम आइसोलेसनमा बस्दा स्वास्थ्य मापदण्ड अपनाएको छ वा छैन भनेर रेखदेखसमेत हुन सकेको छैन ।

जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा संक्रमण बढी देखिएको छ । नगरपालिकाका कर्मचारीदेखि महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवाहरू बन्द गरिएका छन् । अस्पतालले सामान्य अवस्थाका बिरामीलाई अहिले चेकजाँचका लागि नआउन आग्रह गरेको छ । नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बुधबारदेखि ५ दिनका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि १२ जना कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरू केही दिनका लागि बन्द गरिएको जनाएको छ ।