राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै, एसएमएसबाट समेत भोट माग्न नपाइने

राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै, एसएमएसबाट समेत भोट माग्न नपाइने

यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु हुन लागेको जनाएको हो ।,

मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट समेत उमेदवारले भोट माग्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार मौन अवधिको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन । यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

उमेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ । आयोगले निर्वाचनमा भाग लिने मतदाताहरूलाई मतदाता सूचीमा आफ्नो नाम भएरनभएको यकिन गर्न पनि अनुरोध गरेको छ ।

जसका लागि आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचनमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग ‘क्रस भेरिफाइ’ गर्न अनुरोध गरिएको छ ।