डाक्टरलाई कोरोना देखिएपछि टिचिङ अस्पतालका तीनवटा वार्ड बन्द

डाक्टरलाई कोरोना देखिएपछि टिचिङ अस्पतालका तीनवटा वार्ड बन्द

डाक्टरलाई कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालका तीनवटा वार्ड बन्द गरिएको छ । श्वासप्रश्वास, स्नायु प्रणाली र पुरुष शल्यचिकित्सासम्बन्धी वार्ड बन्द गरिएको हो । यी वार्डमा कार्यरत सबैजसो डाक्टर र नर्सहरूलाई कोरोना संक्रमण भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार सीमित डाक्टर र नर्सको भरमा अहिले अस्पताल चलिरहेको छ । अस्पतालभित्रै कोरोना संक्रमण फैलिएपछि उच्च सावधानी अपनाइएको छ । 

त्यस्तै, सामान्य रोगका बिरामीलाई होल्ड गरिएको छ । इमर्जेन्सी अवस्थामा उपचार गर्नुपर्ने बिरामीका लागि भने उपचार सेवा सहज पारिएको अस्पतालले जनाएको छ । ‘अहिले अधिकांश कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ, संक्रमित अवस्थामा अरूको उपचारमा खटिन मिलेन, त्यही भएर संक्रमित डाक्टर, नर्स र कर्मचारी होम आइसोलेसनमा बस्नुभएको छ,’ सूचना अधिकारी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘निको भएर र कोरोना संक्रमण नभएका चिकित्सकहरू धेरै समय खटिरहनुपरेको छ ।’ 

अस्पतालका प्रशासन महाशाखा प्रमुख राजुकुमार श्रेष्ठले पाँच सयभन्दा बढी कर्मचारी संक्रमित रहेको जानकारी दिए । संक्रमित हुनेमध्ये तीन सयजना नर्सिङ स्टाफ, एक सयजना डाक्टर र सयजना अन्य कर्मचारी छन् । संक्रमित ९५ जना कर्मचारी अस्पतालको आइसोलेसन कक्षमा बसेका छन् भने अन्य कर्मचारी तथा डाक्टर घरमै बसेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार काममा खटिने कर्मचारी तथा डाक्टर संख्या कम भएकोले केही वार्डहरू बन्द गरिएको हो । बिरामीको अवस्था र रोगको प्रकृति हेरेर उपचार गर्न थालिएको श्रेष्ठको भनाइ छ । बिस्तारै कोभिडका बिरामीको संख्या पनि थपिँदै छ, अन्य रोगका बिरामीको संख्या पनि उत्तिकै छ, तर उपचारमा खटिने डाक्टरहरूलाई कोरोना संक्रमण भएपछि असहज अवस्था आएको छ,’ उनले भने, ‘उपचार गर्नैपर्ने र गम्भीर रोगका बिरामीको उपचारमा हामीले ध्यान दिएका छौँ ।’ 

त्रिवि शिक्षण अस्पतालका कोरोना संक्रमित बिरामीको संख्या पनि बढेको छ । अस्पतालमा गत साता ४० जना कोभिडका बिरामी भर्ना भएका थिए । तीन दिनयता भने अस्पतालमा भर्ना हुने कोभिडका बिरामीको संख्या बढेको छ । अहिले एक सय २० जना कोभिडका बिरामी भर्ना भएका छन् । त्यसमध्ये तीनजनाको भेन्टिलेटरमा र आठजनाको आइसियूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । पहिलो र दोस्रो लहरमा कोरोनाबाट गम्भीर बिरामी भई उपचार गर्न आउनेहरूको संख्या निकै बढेको थियो । तेस्रो लहरमा पनि बिरामीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै अस्पताल प्रशासनले कोभिड वार्डको जनशक्ति बढाएको छ । यस अस्पतालको कोभिड वार्डमा करिब एक हजार बिरामी अट्छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा कोभिड वार्ड भरिएपछि अस्पतालको बाहिरपट्टि आँगनमै राखेर अक्सिजन दिइएको थियो ।