माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय

माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय

नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो । 

पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका हुन् ।

अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने उल्लेख छ ।  

प्रचण्डको परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।