राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एकै परिवारका तीनसहित चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले उनीहरूविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १०० रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
विभागका अनुसार कैलाली लम्कीचुहा-१० घर भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र गर्लफ्रेन्ड अनिता धितालविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूमाथि सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स इ-स्क्रिल र बाइन्यान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसूर गरेको आरोप छ । विभागले कसूर पुष्टि भएको भन्दै ३७ करोड ६४ लाख ११ हजार १०० जफत गर्दै तीन वर्षसम्मको कैद सजाय मागदाबी गरेको छ ।
प्रतिवादीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू,बरामदित मोबाइलमा प्राप्त भएको डाटाहरू, कल डिटेल लगायत प्रमाणको आधारमा मुद्दा दर्ता गरेको विभागको भनाइ छ । अमेरिकी डलरको अनलाइनमार्फत अवैध रुपमा कारोबार गरिरहेको अभियोग लगाइएको छ।