सवारी दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

सवारी दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

झापा जिल्लामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो कुरा पुष्टि भएको हो ।

चालु आ.व.को पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए । जिल्लामा चालु आ.व.को पुस मसान्तसम्म ३१३ सवारी साधन दुर्घटना भएका थिए । उक्त सङ्ख्या गत आ.व.को तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आ.व.मा ६५७ सवारी साधन दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका थिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने दुईपाङ्ग्रे सवारी साधनको सङ्ख्या अत्यधिक रहेको चापागाईँ बताउँछन् । ‘जिल्लामा बर्सेनी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘मोटरसाइकल दुर्घटना बढी छ ।’ सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायतका कारणले दुर्घटना बढ्दै गएको उनको भनाइ छ । जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईँ बताउँछन् ।

ट्राफिक कार्यालयले चालु आ.व.को ६ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २३ हजार २०० सवारी साधनका चालकलाई कारबाही गरेको छ । कारबाहीवापत उनीहरुबाट रु एक करोड ५६ लाख २२ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।