काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले आफ्ना विरुद्ध विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति प्रकट गरेका छन् । विभिन्न सञ्चार माध्यममा आएका समाचारले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै रेग्मीले आपत्ति प्रकट गरेका हुन् ।
‘मन्त्री आलेका पिएको रवाफ, डेढ करोड रुपैयाँ त आँखा चिम्लेर खर्च गर्नसक्छु’ भन्ने जस्ता शीर्षकमा प्रकाशित समाचारप्रति उनले आपत्ति प्रकट गरेका हुन् ।
उनले सार्वजनिक भएको अडियो सम्वादमा गृहजिल्ला कैलालीको जग्गा बिक्री गराइदिन काठमाडौंको इन्द्रदहबाट गरेको १५ मिनेट लामो नितान्त व्यक्तिगत कुरा भएको बताए ।
तर अहिले काटकुट पारेर अतिरन्जित तरिकाले समाचार बनाएको भन्दै आपत्ति जनाएका हुन् । रेग्मीले उक्त संवाद आफू मन्त्रीको पिए नहुँदाको बेलाको रहेको समेत स्पष्ट पारेका छन् ।