युक्रेन तनाव : सबै पक्षलाई संयमित रहन चीनको आग्रह

युक्रेन तनाव :  सबै पक्षलाई संयमित रहन चीनको आग्रह

चीनले युक्रेनको जारी संकटमा मुछिएका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँगको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनको जारी संकटमा संलग्न सबै पक्षलाई शान्त एवं संयमित रहन आग्रह गरेका हुन् ।

यीले सबै पक्षलाई बढ्दो तनाव रोक्नसमेत आग्रह गरेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ‘हामी सबै पक्षलाई शान्त रहन र तनाव निम्त्याउने तथा संकट चर्काउने कुनै पनि गतिविधिबाट टाढै रहन आग्रह गर्छौं’, चिनियाँ विदेश मन्त्रालयले यीलाई उदृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता ब्लिङ्केनले कुराकानीका क्रममा आफूहरू तनाव कम गर्ने कुरालाई जोड दिएको भन्दै रुसी हस्तक्षेपबाट हुन सक्ने सुरक्षा एवं आर्थिक जोखिमबारे चेतावनी दिएका थिए । कुटनीति नै अघि बढ्ने जिम्मेवार माध्यम भएको पनि उनको भनाइ थियो ।