केपी शर्मा ओलीले आइसोलेसनको मापदण्ड उल्लंघन गरेको भन्दै चर्को आलोचना

केपी शर्मा ओलीले आइसोलेसनको मापदण्ड उल्लंघन गरेको भन्दै चर्को आलोचना

कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भइरहेको छ । भक्तपुर बालकोट बस्दै आएका ओली बालकोटमै बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।

गत ८ माघमा उनको कोराना संक्रमित भएको रिपोर्ट आएको थियो । तर, अध्यक्ष ओली संक्रमणमुक्त नहुँदै पार्टी भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भए । सो कार्यक्रममा सयौंको सहभागिता रहेको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक रूपमा ओलीको आलोचना भइरहेको भए पनि उनको सचिवालयले कोरोना भाइरस आइसोलेसनको मापदण्ड उल्लंघन नगरेको दाबी गरेको छ ।

पूर्वप्रधानमन्त्री ओलीका सञ्चार संयोजक रामशरण बजगाइले भने, ‘कार्यक्रममा सहभागी भएको ६ दिन पुगिसकेको थियो । अघिल्लो शनिबार उहाँको रिपोर्ट पोजेटिभ देखिएको थियो । बिहीबारसम्म आइसोलेसनमा बस्ने उहाँको समय ६ दिन पुगिसकेको थियो । अहिलेको प्रोटोकलअनुसार त्यसो गर्न पाइन्छ भन्ने कुरा भएको थियो ।’

सचिवालयले ओलीले आइसोलेसनको अवधिपछि मात्रै घरबाहिर कार्यक्रममा निस्किएको दाबी गरिरहेको भए पनि सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष ओली कोरोना भाइरसको विषयमा यसअघि पनि पटकपटक विवादमा पर्दै आएका छन् । प्रधानमन्त्री भएको बेला राष्ट्रिय सभा बैठकमा ‘कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भएको थियो ।

उनले बेसारपानी खाएर पनि कोरोना ठीक पार्न सकिने भन्दै संसद्मा पटकपटक दोहो¥याएका थिए । प्रधानमन्त्री भएकैबेला ‘अम्बाको पातले कुल्ला गरेर’ कोरोनाबाट जोगिन सकिने बताएपछि उनको थप आलोचना भएको थियो ।

ओली सहभागी कार्यक्रममा एमाले नेताहरू गोकुल बाँस्कोटा, महेश बस्नेत, किरण पौडेललगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ओलीको नाम नलिई आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा शर्माले लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो † यही ज्ञान र विज्ञान आत्मसात् गरेर, संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु । जय नेपाल ।’