कोरोना महामारीमा पनि गौरीफन्टा नाका हुँदै रोजगारी गर्न भारत जानेको संख्या रोकिएन

कोरोना महामारीमा पनि गौरीफन्टा नाका हुँदै रोजगारी गर्न भारत जानेको संख्या रोकिएन

बसन्त बिक, धनगढी । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कोरोना महामारीमा पनि भारत जानेको संख्या बढ्दो छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल र भारतका विभिन्न स्थानमा स्मार्ट लकडाउन समेत लागू गरिएको छ ।

तर सुदूरपश्चिमबाट रोजगारी गर्न दैनिक सयौंको संख्यामा कैलालीको त्रिनगर नाका हुँदै भारत जाने गरेको तथ्याङ्कले देखाएको छ । उनीहरु ज्यानको बाजी राखेर नै परिवार पाल्नको लागि मजदुरी गर्न भारतका विभिन्न राज्यमा जाने गरेका छन् ।

त्रिनगर नाका हुँदै एक हप्ताको अवधीमा मात्रै तीन हजार ७२ जना नागरिक रोजगारी गर्न भारत पसेका छन् । गौरीफन्टा नाकामा अवस्थित सशस्त्र प्रहरीको तथ्याङ्क अनुसार गएको शनिबार ५१५ जना, आइतबार ३५३ जना, सोमबार ४९६ जना, मंगलबार ३४१ जना, बुधबार ४१८ जना, विहिबार ४६६ जना र शुक्रबार ४८३ जना गरी तीन हजार ७२ जना रोजगारीका लागि भारत प्रवेश गरेका छन् ।

यस्तै यो नाका हुँदै एक हप्तामा दुई हजार ४६१ जना स्वदेश फर्किएका छन् । वर्षेनी जस्तो सुकै महामारी भएपनि रोजगारीका लागि भारत जानु पर्ने बाध्यता छ ।

तर देशमै रोजगारीको अवस्था सृजना गर्न तीनवटै सरकार असफल हुँदै आएका छन् । देशमा नै रोजगारीको अबसर सृजना गरी प्रत्येक नागरीकलाई देशमा काम गर्ने वातावरण बनाउन सरकारको ध्यान जान आवश्यक छ ।