२ महिनाभित्र ५–११ वर्ष उमेरसम्मका बालबालिकालाई फाइजर खोप दिने तयारी

२ महिनाभित्र ५–११ वर्ष उमेरसम्मका बालबालिकालाई फाइजर खोप दिने तयारी

सरकारले गरेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार त्यसका लागि ८४ लाख डोज फाइजर खोप खरिदको प्रक्रिया अघि बढाइएको छ।

अहिले १२–१८ वर्षका विद्यार्थीहरूलाई अभियानका रूपमा मोडर्ना खोप सञ्चालन भइरहेको छ। राष्ट्रिय खोप नीतिअनुसार, चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नेपालीलाई खोप लगाइसक्ने लक्ष्य छ। हालसम्म १८ वर्षमाथिका ८३ प्रतिशत व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन्। ७० प्रतिशत नागरिकले खोपको दोस्रो मात्रा लगाइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। 

दातृ निकायको सहयोग र सरकारले खरिद गरेर हालसम्म कुल ४ करोड ३३ लाख डोज भित्रिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। ती खोप विभिन्न दातृ निकायको सहयोगमा ल्याइएको हो।  कतिपय खोप सरकारले खरिद गरेको हो। खोपलाई सम्बन्धित प्रादेशिक र जिल्ला स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइएको छ। सो खोप पालिका हुँदै स्वास्थ्य केन्द्रमा समेत पठाउने व्यवस्था मिलाइएको डा. मरासिनीले बताए। अहिले खोप भण्डारणमा करिब ७३ लाख डोज भण्डारणमा रहेको छ।