परीक्षण नै नगरी कोरोनाको 'नेगेटिभ' रिपोर्ट, ४ जना पक्राउ

परीक्षण नै नगरी कोरोनाको 'नेगेटिभ' रिपोर्ट, ४ जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले मंगलवार भक्तपुरको ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेमा

रहेको कान्तिपुर अस्पताल प्रालिबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिको नक्कली पिसीआर रिपोर्ट बनाउने मेसिनसहित उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–४ का २५ वर्षीय रोसनकुमार छिट्टान, काभ्रेपलान्चोक तेमाल गाउँपालिका–७ का माधव मैनाली, धनुषा छिरेश्वर नगरपालिका–१ का २५ वर्षीय नागेन्द्र यादव र सर्लाही बलरा नगरपालिका–७ का २४ बर्षीय प्रसन्नकुमार झालाई पक्राउ गरेको महाशाखाले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले वैदेशिक रोजगारीमा जानेहरूलाई परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ भएको रिपोर्ट दिने गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नागरिक कम्युनिटी अस्पतालका सञ्चालक भावेश मिश्र र कान्तिपुर अस्प्ताल प्रालिका सञ्चालक निर्मल गिरी फरार छन् ।  प्रहरीले अस्पतालबाट पीसीआर परीक्षण गर्ने मेसिन पनि बरामद गरेको छ ।