चुनावको तयारीमा लाग्न माधव नेपालको आह्वान

चुनावको तयारीमा लाग्न माधव नेपालको आह्वान

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सिन्धुपाल्चोकमा सम्बोधन गर्नुहुँदै नेपालले यस्तो आह्वान गर्नुभएको हो।

निर्वाचन आयोगले स्थानीय तहको मिति प्रस्ताव गरिसकेको अवस्थामा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावको तयारीमा लाग्न भन्नुभएको हो। ‘यो समयमा म पार्टीका सम्पूर्ण कमरेडहरुलाई स्थानीय तहको चुनावको तयारीमा लाग्न आह्वान गर्दछु’, अध्यक्ष नेपालले भन्नुभयो, ‘अब पार्टी बनाउने र चुनावमा समेत सहभागी हुने हो।’

चुनावी अभियानका लागि सबैलाई जिम्मेवारी दिनसमेत अध्यक्ष नेपालले आग्रह गर्नुभएको छ। ‘यो आन्दोलनमा समाहित हुनेलाई जिम्मेवारी दिन म सबै कमरेडलाई आग्रह गर्दछु’, अध्यक्ष नेपालले भन्नुभयो। अध्यक्ष नेपालले सबै एमाले परित्याग गरेर एकीकृत समाजवादीमा सामेल हुने अभियान चलेको दाबी गर्नुभयो। अहिले पार्टी कार्यालयमा प्रवेशका लागि ताँती लागेको उहाँको दाबी छ।

अनावश्यक भ्रम, आशंका र आपसी अविश्वास पैदा भएका छन्। जाल झेल र षड्यन्त्रका पछाडि नलाग्नुहोस्। सबैलाई अलगअलग आश्वासन दिने। एकीकृत समाजवादी जनताका समस्या समाधान गर्न चाहने भन्दै अध्यक्ष नेपालले देशको आन्तरिक मामिलामा कसैलाई हस्तक्षेप गर्न नदिने उल्लेख गर्नुभएको छ।

‘हामी गलत कुरा गर्दैनौँ। यो देशलाई कुनै पनि गठबन्धनमा सामेल गरिने छैन। हामी सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो देशको आन्तरिक मामिलामा कसैलाई हस्तक्षेप गर्न दिदैनौँ। नेपालको राष्ट्रियतामा कुठाराघात गर्न दिदैनौँ।’