फागुन १९ देखि २८ गतेसम्म  ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता हुने

फागुन १९ देखि २८ गतेसम्म  ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता हुने

धनगढी । सर्वाधिक पुरस्कार राशिको  ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ । 

धनगढी स्थित क्षेत्रीय रङ्गशालामा फागुन १९ देखि २८ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्ड कप सञ्चालन हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जानकारी दिएको छ । 

सो फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका महा-सचिव प्रकाश शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँच, मोफसलका दुई, विदेशी दुई र एक आयोजक क्लबको टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीड–फिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई जनही २० हजार रुपियाँका दरले पुरस्कार प्रदान गर्ने अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । 

यस्तै, हरेक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि डेढ करोड रुपियाँ खर्च हुने पत्रकार सम्मेलनमा जनाइएको छ । 

एन्फा तथा फिफाको नियम अनुसार खेलाइने प्रतियोगिताको हरेक टिममा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जानकारी दिइएको छ । 

यसै गरी, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक ब. सिंहले आफू जिल्ला खेलकुदको अध्यक्ष रहँदा देखी नै क्लब मार्फत खेलकुद प्रतियोगिता आयोजना गर्नमा लागी परेको बताउँदै सिङ्गो खेलकुद जगत र क्लबलाई जोगाउन लागी अहिले पाँचौँ संस्करणमा प्रवेश गरेको  ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता लाई ५० औँ संस्करण सम्म पुर्‍याउन सबैलाई हातेमालो गर्न आग्रह गर्नुभएको छ । 

पाँचौँ संस्करणको  ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितामा अनुमानित दैनिक पाँच हजार दर्शकले गोल्ड कपको खेल अवलोकन गर्ने र अप्रत्यक्ष रूपमा ५० लाग बढी दर्शकहरूले खेलकुदबारे जानकारी पाउने आयोजकको दाबी छ ।