एमालेले स्थानीय चुनाव घोषणा गराउन दबाबमूलक आन्दोलन गर्ने

एमालेले स्थानीय चुनाव घोषणा गराउन दबाबमूलक आन्दोलन गर्ने

प्रमुख विपक्षी दल एमालेले स्थानीय चुनाव घोषणा गराउन सरकारविरुद्ध दबाबमूलक आन्दोलन घोषणा गरेको छ । एमाले केन्द्रीय सचिवालयको बुधबारको बैठकले सातवटै प्रदेशमा दबाबमूलक आन्दोलन घोषणा गरेको छ । 

निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै नै यसबारे मन्त्रिपरिषद्बाट निर्णय हुने बताएको अर्को दिन एमालेले आन्दोलनमा जाने बताएको हो । एमालेले बिहीबारसम्म चुनाव घोषणा नभए आफ्नै अग्रसरतामा आन्दोलन व्यापक बनाउने निर्णय लिएको छ ।

‘स्थानीय तहको चुनावको दबाबका लागि पार्टी केन्द्रीय कार्यालयको व्यवस्थापनमा केन्द्रमा दबाबमूलक कार्यक्रम गर्छौँ । त्यस्तै, सातवटै प्रदेशमा त्यस्ता दबाबमूलक कार्यक्रम गरेर सरकारलाई दबाब दिन्छौँ,’ बैठकपछि उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीहरूसँग भने, ‘सरकारले बिहीबार चुनाव घोषणाको निर्णय गरेन भने हामी नेपालको संविधान र कानुनअनुसार स्थानीय तहलाई रिक्त हुन नदिन यसअघि जनसंगठनको आयोजनामा सञ्चालन हुँदै आएको दबाबमूलक कार्यक्रमलाई पार्टी आफैँले महत्व दिएर केन्द्रमा पार्टी कार्यकर्ता भेला राख्छौँ, सातवटै प्रदेशमा दबाबमूलक कार्यक्रमको तयारी अगाडि बढाउँछौँ ।’ 

एमालेका जनसंगठनहरूले आइतबार, सोमबार र मंगलबार जिल्ला प्रशासन कार्यलयमार्फत चुनाव घोषणाका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, जनसंगठनहरूले विभिन्न जिल्लाहरूमा गोष्ठी, अन्तत्र्रिmया, मसाल जुलुस, धर्ना र कालो झन्डा प्रदर्शनलगायतका कार्यक्रम जारी राख्दै आएका छन् ।

त्यस्तै, बैठकले पार्टीपंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको छ । त्यस्तै, स्थानीय निर्वाचनमा केन्द्रित हुने गरी केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।