नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचनाहरूलाई मर्मत गर्न मन्त्री आलेको निर्देशन

नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचनाहरूलाई मर्मत गर्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरूलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् ।

बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा स्थलगत अवलोकन गर्दै सङ्ग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन् । 

सङ्ग्रहालय अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले सङ्ग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तीहरू जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए । त्यसै गरी गेटको बाहिर छाना चुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए ।

त्यस्तै, सङ्ग्रहालयमा रहेका पुराना गाडीहरूलाई मर्मतका साथसाथै रङ रोगन गरेर राख्न पनि निर्देशन दिइएको उनले बताए । उनले नारायणहिटी दरबार सङ्ग्रहालयमा अधुरा रहेका कामहरूलाई सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिए ।

उनले विगतमा सङ्ग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरू भत्काइसकिएको बताए । सङ्ग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे ।