क्यान्सर पीडित ममतालाई सशस्त्रको आर्थिक सहयोग

क्यान्सर पीडित ममतालाई सशस्त्रको आर्थिक सहयोग

दार्चुला । क्यान्सर पीडित किशोरी ममता कुँवरलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले आर्थिक सहयोग गरेको छ । महाकाली नगरपालिका–१ की १७ वर्षीया ममता कुँवरको उपचारका लागि नम्बर ४४ गण दार्चुलाले आर्थिक सहयोग गरेको हो ।

शुक्रवार पीडित आफन्तका परिवारलाई २२ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन विष्टले बताए । ब्लड क्यान्सर भइ काठमाडौं शिक्षण अस्पतालमा उपचाररत कुँवरको उपचारमा सहयोग पुगोस् भनी आर्थिक सहयोग गरिएको उनले बताए ।

गणमा कार्यरत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त रकम उठाएर सहयोग गरेका हुन् । उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । ‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे ममताले पुर्नजीवन पाउँथी, त्यसैले सहयोगको अपिल गरेका हौं’, दिदी आरती डोबालले भने । उनका लागि सहयोग आउने क्रम जारी छ ।

परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ । सहयोग गर्न चाहनेलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा रहेको खाता नम्बर के१०७०१०००५३३७ मा सहयोग जम्मा गरिदिन डोबालले आग्रह गरे । ममता बचाउ अभियान संचालन गरेर अहिले उपचारका लागि १४ लाख जति आर्थिक सहयोग संकलन भएको आफन्तले बताएका छन् ।

रगत क्यान्सर पीडित ममताको उपचारका लागि ३० लाख रुपैयाँ लाग्ने बताइएको छ । ममता १५ महिनाको हुदा नै उनका बुवाको निधन भएको थियो । पारिवारिक अवस्था कमजोर भएको ममताको परिवारलाई अहिले देश तथा विदेशबाट उपचारका लागि सहयोग प्राप्त भइरहेको छ ।