कैलाली ट्राफिकले भन्यो-´कारबाहीमा परेका कागजपत्र एक हप्ताभित्र लैजानू´

कैलाली ट्राफिकले भन्यो-´कारबाहीमा परेका कागजपत्र एक हप्ताभित्र लैजानू´

धनगढी : कारबाहीमा परेका सवारी धनी तथा चालकहरूले ७ दिन भित्र कागजपत्रहरू लैजान जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । ट्राफिक प्रहरीले चेकिङका क्रममा कारवाहीका लागी कार्यालयमा ल्याइएका कागज पत्र सम्बन्धित व्यक्तिहरूलाई एक सूचना जारी गर्दै लग्न आग्रह गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीबाट जारी गरिएको सूचनामा भनिएको छ । ”विभिन्न मितिमा यस कार्यालयबाट खटिई गएको डिउटी तथा चेकिङले सवारी साधन चेकजाँचका क्रममा ट्राफिक नियम उलङ्घन गर्ने सवारी धनी तथा चालकहरूका कागजपत्रहरू कारबाहीका लागि यस कार्यालयमा ल्याएकोमा हाल सम्म पनि सवारी धनी तथा चालकहरू उक्त कागजपत्र लिन नआएकाले सवारी धनी तथा चालकहरूले सात दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।”

साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उक्त कागजपत्र लिन नआएमा थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने चेतावनी समेत दिएको छ ।

विगत २ वर्ष देखी चेकजाँचका क्रममा ट्राफिक नियम उलङ्घन गर्ने सवारी धनी तथा चालकहरूका कागजपत्रहरू कारबाहीका लागि कार्यालयमा ल्याएका कागज पत्रहरू लग्न सम्बन्धित व्यक्तिहरू कागजात लिन नआएकाले आफूहरू विवरण सार्वजनिक गर्न बाध्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल ब. सिंहले बताए ।

काठमाडौँमा कागजपत्र समातेको एक हप्तामा यातायात पठाउने गरिएको भए पनि यहाँ भने ढिलो गरी यो अभ्यासको थालनी भएको निरीक्षक सिंहको भनाई रहेको छ ।