नेपालको हवाई क्षेत्रलाई सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

नेपालको हवाई क्षेत्रलाई सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन आग्रह गर्नुभएको छ ।

मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग आज साेमवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले हवाई सुरक्षामा गृहकार्य गरिरहेकाले पनि त्याे सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न तथा उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।’ उहाँले नागरिक उड्डयन क्षेत्रका साथै संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राख्नुभयो । 

भेटमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि ईयूकाे प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिनुभयो ।