सशस्त्रको कमाण्डमा रेल्वे सुरक्षा गण स्थापना गर्ने गृहको तयारी

सशस्त्रको कमाण्डमा रेल्वे सुरक्षा गण स्थापना गर्ने गृहको तयारी

रेलको सुरक्षा व्यवस्थापनका लागि ‘रेल्वे सुरक्षा गण’ स्थापना गर्न गृहकार्य अघि बढाइएको छ । रेलको सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुने र त्यसैमा केन्द्रित एउटा निकाय चाहिने भन्दै गृह मन्त्रालयले रेल्वे सुरक्षा गण स्थापना गर्न लागेको हो।

उक्त गण स्थापनाबारे गृहले आफ्नो कार्ययोजनामा समेत उल्लेख गरेको छ। २ वर्षभित्र रेल्वे सुरक्षा गण स्थापना गर्ने गृहले तयारी गरेको छ। यसको जिम्मा भने सशस्त्र प्रहरीलाई दिइने कार्ययोजनामा उल्लेख गरिएको छ। 

त्यसैगरी, सशस्त्र प्रहरीले नै हेर्ने गरी प्रतिआतंकवाद सेलको समेत गठन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ। उक्त सेल पनि २ वर्षभित्र गठन हुने बताइएको छ । देशमा हुने आतंकवादी गतिविधि नियन्त्रण गर्न उक्त सेल प्रभावकारी हुने बताइएको छ।

सशस्त्र प्रहरीकै कमाण्डमा आउँदो ३ वर्षभित्र ४ वटा औधोगिक सुरक्षा गुल्म स्थापना गर्ने तयारी गरिएको छ। औधोगिक सुरक्षालाई यसले थप प्रभावकारी बनाउने कार्ययोजनामा उल्लेख छ। 

त्यसैगरी, ३ वर्षभित्र सशस्त्रका ७ वटा आश्रित गुल्मलाई अनाश्रित गुल्ममा स्तरोन्नति गरिने कार्ययोजना गृह मन्त्रालयले सार्वजनिक गरेको छ।