नेपाल टेलिकमको एनटी एनिभर्सरी अफर

नेपाल टेलिकमको एनटी एनिभर्सरी अफर

नेपाल टेलिकमले स्थापनाको १८औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न सुविधा सार्वजनिक गरेको छ ।

कम्पनीले देशभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी विभिन्न विशेषतासहितको भोल्टी सेवा सुरु गरेको हो । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले ‘एनटी एनिभर्सरी अफर’ ल्याएको जानकारी दिइन् । अफरअनुसार दुई सय ९४ रुपैयाँमा २० जिबी डेटा १० दिनसम्म, ९८ रुपैयाँमा ६ जिबी डेटा तीन दिनसम्म र ६९ रुपैयाँमा माघ १७ गतेदेखि फागुन ३ गतेसम्म हरेक दिन एक एमबिपिएस डेटा प्रयोग गर्न सकिने वैद्यले बताइन् । वार्षिकोत्सवको दिन माघ २२ गते कम्पनीले आफ्नो नेटवर्कभित्र भिओएलटिई कल निःशुल्क गरेको थियो । 

वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले विभिन्न सेवाहरू १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरूप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तीमा एक–एकवटा सरकारी र सामुदायिक विद्यालयहरूमा खेलकुद सामग्री र निःशुल्क डेटा सेवा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघलगायतका जनावर र चराचुरुंगीहरूका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने वैद्यले जानकारी दिइन् ।  

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवाप्रदायकका रूपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटिई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले टेलिकमलाई गुणस्तरीय एफटिटिएच सेवाको विस्तार मागबमोजिम गर्न निर्देशन दिए ।

कम्पनीका सेवाहरू सुपथ र आकर्षक रहे पनि आमसेवाग्राहीबीच यिनको प्रचार नभएको भन्दै उनले यसतर्फ विशेष ध्यान पुर्‍याउनुपर्ने उल्लेख गरेका थिए । कोभिड–१९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले पु¥याएको योगदानप्रति माननीय मन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौँ वार्षिकोत्सवको अवसरमा तयार पारिएको स्मारिका र भोल्टी सेवाको व्यावसायिक सुरुवात गरिएको थियो ।     

यसैगरी, कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका विक्रेताहरू र एमपोस विक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरूलाई सम्मान र पदक तथा विगतका वार्षिकोत्सव कार्यक्रमहरूमा जस्तै आजको कार्यक्रममा पनि कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवापदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।