विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी पुरुष टी–२० विश्व कप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन टोली आज बेलुका ओमान जान लागेको हो ।

टोली बेलुका आठ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ ।

‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने ‘बी’ मा  यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु आउँदो फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ मा खेल्ने तालिका छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछन्। फाइनल खेल फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् ।

छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला पनि खेल्नेछ । श्रृङ्खलमा नेपाल, ओमान, यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।