धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेल ग्राम बनाउने निर्णय सँगै सुदूरको एक सपना साकार उन्मुख

धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेल ग्राम बनाउने निर्णय सँगै सुदूरको एक सपना साकार उन्मुख

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अवस्थित फाप्ला क्रिकेट मैदानलाई खेल ग्राम बनाउने संघिय सरकारको निर्णय सँगै सुदूरपश्चिमका नागरिकको एक सपना साकार उन्मुख देखिएको छ । 

वर्षौँ पहिले देखी फाप्ला क्रिकेट मैदान निर्माणको सपना बोकेका सुदूरपश्चिम प्रदेशका नागरिकले आइतबार संघिय सरकारको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशको गौरबको आयोजना ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र खेल ग्राम’ लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरे सँगै सिङ्गो सुदूरपश्चिमको सपना पुरा हुने तर्फ एक खुड्किलो पार गरेको बताएका छन् ।

धनगढी उप-महानगरपालिका वडा नम्बर ३ मा रहेको ३९ हजार ९ सय १० वर्ग मिटर क्षेत्रफल जग्गामा क्रिकेट मैदान र खेल ग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।

सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । 

सरकारको यो निर्णयको स्वागत गर्दै सुदूरपश्चिममा खेलकुदको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका व्यक्तिहरूले पनि खुसी व्यक्त गरेका छन् । उनीहरूले आफूहरूले गरेको मेहेनत र प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् ।  

यसै प्रसङ्गमा धनगढी खबर सँग कुरा गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष, एवम् ड्रिम फाप्ला क्रिकेट मैदानका अभियनता सुवास शाहीले सरकारको यो निर्णयले प्रदेशवासी उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । आफूहरूको ७ वर्ष देखिको सपना पूरा भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । “सरकारको यो निर्णयले हामी एकदमै उत्साहित छौँ । हामीहरूको ७ वर्ष अगाडी देखीको निरन्तर प्रयास र सबैको साथ सहयोगबाट यो निर्णयले उत्साहित बनाएको छ ।” उहाँले भन्नुभयो । 

सरकारले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र खेल ग्राम’ बनाउने निर्णय गरेको छ । कार्यान्वयन हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? केही आधार छन् ? भनी गरिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष  शाहीले, आफूहरू यो मैदान निर्माणको लागी निरन्तर सात वर्ष देखी प्रयासरत रहेको र नजिकबाट नियालेको बताउँदै समयमै निर्माण हुन्छ भन्ने कुरामा आशा बादी रहेको बताउनुभएको छ । “हामीले नजिकबाट हेरेका छौँ । त्यही अनुसारको केन्द्र सरकारबाट आश्वासन पनि पाएका छौँ । यसमा महत्त्वपूर्ण कुरा के छ भने यसको निर्माणको लागी छुट्टै विकास समिति बनाएर लग्ने सरकारले निर्णय जुन गरेको छ । यो निकै स्वागत योग्य छ । सरकारले जुन मोडलले यो योजनालाई अगाडी बढाएको छ । त्यो हेर्दा समयमै निर्माण पुरा हुनेमा नो डाउट (कुनै संका छैन) । यो महत्त्वपूर्ण निर्णयको लागी सरकार लाई धन्यवाद दिन चाहन्छु ।” उहाँले भन्नुभयो । 

त्यस्तै, धनगढी खबर सँगको कुराकानीका क्रममा धनगढी उप-महानगरपालिकाका मेयर नृप बहादुर वडले आफूहरूले यो योजनालाई  सुदूरपश्चिम प्रदेशकै गौरवको योजनाका रूपमा लिएको बताउनुभएको छ । “विगत २०७०/०७१ देखी यसको निर्माणका लागी लागी परेको छु । यसमा सुवास शाही जी पनि त्यत्तिकै लाग्नुभएको थियो । मैले चुनाव जितेर आइसके पश्चात् धनगढी सहरलाई खेलकुदको सहर बनाउने भनेर धनगढी उप-महानगरको पहिलो नगर सभा बाट  पास गरेका थियौँ । भने सँग सँगै क्रिकेटको सहर बनाउने निर्णय पास गरेका थियौँ । सो चाहनालाई अहिलेको आदरणीय काँग्रेस सभापति शेर ब. देउवा नेतृत्वको सरकाले यहाँको आवश्यकतालाई मध्यनजर गर्दै सो निर्णय पास गर्नुभएको छ । यो निर्णयले मेरो सपना पुरा भएको छ । मलाई लाग्छ धनगढी वासी र सिङ्गो सुदूरपश्चिम बासीहरूको पनि सपना साकार हुन्छ भन्ने मलाई लाग्छ ।” उहाँले भन्नुभयो । 

यसै गरी मेयर वडले सरकारको यो निर्णयसँगै यहाँ अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलहरू तथा अन्य विभिन्न खेलहरू खेलाउन मिल्ने गरी विभिन्न आवश्यक भौतिक पूर्वाधार तयार गरिने बताउनुभएको छ । “जब सम्म हामी सुविधा सम्पन्न स्टेडियमहरू बनाउँदैनौ त्यति बेला सम्म हामी सफल हुन सक्दैनौँ । मैले खेलकुद ग्रामकै हिसाबले लैजान आग्रह गरेको छु । त्यहाँ अन्तर्राष्ट्रिय स्तरको खेलकुद ग्राम नै बनाउन पर्छ, बास बस्न मिल्ने गरी होटेल, प्रशासनिक भवन लगायतका आवश्यक पर्ने सबै संरचनाहरू निर्माण गर्न आग्रह गरेका थियौँ ।  जो सरकारले पुरा गरी दिएको छ । निकै खुसीका साथ धन्यवाद दिन चाहन्छु साथ सहयोग गर्नुहुने सबैलाई ।” उहाँले भन्नुभयो । 

मेयर वडले थप्दै, यो खेलकुद ग्रामको निर्माण सम्पन्न हुन सके पर्यटकीय रूपमा यसको विकास हुन सक्ने र भारत र पाकिस्तान लाई एउटै खेल मैदानमा खेल खेलाउने सपना पुरा हुने बताएका छन् ।  “राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरू आयोजना हुन थाले पछि हाम्रो भारत र पाकिस्तान लाई एउटै खेल मैदानमा खेल खेलाउने सपना छ त्यो पनि पुरा हुनसक्छ । सो सपना पुरा गर्न यो सबैभन्दा सजिलो र नजिकको ग्राउण्ड बन्छ । साथै खेल क्षेत्रमा युवाहरू लागे स्वास्थ्य युवा रहनेछन् । त्यसले समग्र सुदूरपश्चिमलाई र सिङ्गो देशलाई फाइदा पुग्ने छ ।” उहाँले भन्नुभयो । 

सरकारको यो निर्णयसँगै धनगढीमा नेपालकै सबैभन्दा ठुला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ ।
यद्धपी यो भन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले २०७५ पुस १८ गतेको मन्त्रीपरिषद्को निर्णयले पनि फाप्ला क्रिकेट मैदान निर्माण स्थलको लागि धनगढी उप-महानगरपालिका ३ स्थित फाप्ला खेलमैदानको जग्गाको स्वामित्व भोगाधिकार प्राप्तिका लागि नेपाल सरकारकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।  प्रदेश सरकारको खेलकुद परिषद्ले सो खेलमैदानको डिपिआर पनि गरी सकेको र माटो परीक्षण पनि गरी सकेको बताइएको छ । 

सुदूरपश्चिम प्रदेशलाई अन्तर्राष्ट्रिय स्तर सँग जोड्न, धनगढीलाई अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने सम्भावना बोकेको दूरगामी महत्त्वको यो योजना बनाउन जसरी निर्णय गरिएको छ । हो त्यसरी नै कार्यान्वयन भएर निर्माण सम्पन्न भए सुदूरले आफ्नो सरकार भएको महसुस गर्ने छ । यदि कार्यान्वयन नभई कागजी दस्ताबेज र केही थान पत्रपत्रिकाकै हेडलाइनहरू मा मात्रै सीमित रहे चुनावी स्टन्ट केही नहुने र सुदूरका जनताले फेरी एक पटक काठमाडौँले ठगेको झुक्क्याएको महसुस गर्ने छन् । त्यस बखतको सुदूरको आक्रोश अकल्पनीय हुने छ  । राजनीतिज्ञहरूको लागी अक्षम साबित हुन सक्छ ।