दलित महिला अधिकार मञ्च नेपालद्वारा ३ दिने महिला आत्मरक्षा तालिम सञ्चालन

दलित महिला अधिकार मञ्च नेपालद्वारा ३ दिने महिला आत्मरक्षा तालिम सञ्चालन

धनगढी । दलित महिला अधिकार मञ्च नेपाल (DWRF) ले कैलालीमा  ३ दिने महिला आत्मरक्षा तालिमको आयोजना गरेको छ । किशोरीहरू का लागि आज देखि लम्की चुहा नगरपालिका स्थित जेसिजको हलमा ३ दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको हो । 

महिला हिंसा विरुद्धको अभियान प्रहारका प्रमुख प्रशिक्षक प्रकाश चन्दले सहजीकरण गरिराख्नुभएको सो तालिममा बर्दगोरिया गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाका गरी ३० जना बालिका हरू को सहभागिता रहेको छ ।

तालिमबाट किशोर किशोरीहरूले आफ्नो क्षमताको पहिचान गरी आत्मबल, आत्मविश्वास बढाएको आयोजकको विश्वास रहेको छ ।  आफूमा घट्न सक्ने हिंसा विरुद्ध आवाज उठाइ प्रश्न गर्न सक्छु भन्ने भावनाको विकास गराउँदै आफू सक्षम बन्ने प्रेरणा दिन र समाजमा हरेक हिंसाको अन्त्य गरी सक्षम बन्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष सावित्री घिमिरेले बताइन् ।

त्यस्तै, सो तालीम अवधिभर किशोर किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी जानकारी, आफू माथि हुने विभिन्न खालका हिंसा विरुद्ध आवाज उठाउन आत्मविश्वास बढाउन तथा आत्मरक्षाका केही महत्त्वपूर्ण सिप सिकाउने उद्देश्यले ३ दिन तालिम दिन लागिएको दलित महिला अधिकार मञ्चकी किशोरी सशक्तीकरण कार्यक्रम संयोजक भगवती चौधरीले जानकारी दिइन् ।