एमसीसी पारितमा अमेरिकाको दबाबले सत्ता गठबन्धन बिच अनबन

एमसीसी पारितमा अमेरिकाको दबाबले सत्ता गठबन्धन बिच अनबन

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताउनुभएको स्रोतले जनायो ।

उता प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा अनुमोदनको लागि टेबल गराउन चाहे पनि सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति कायम गरेर मात्र आउन आग्रह गर्दै आउनुभएको छ । एमसीसीको विषयलाई सत्ता गठबन्धनभित्र सहमतिभन्दा विमति बढ्दै गएको छ ।

कांग्रेसको पदाधिकारी बैठकले एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ भने सत्ता गठबन्धनमा आबद्ध जसपा जतिसक्दो छिटो एमसीसी पारित गर्नुपर्ने अडानमा छ । गठबन्धनका अन्य दल संशोधनबिना एमसीसी अगाडि बढाउन नहुने अडानमा छन् ।