धनगढीमा दूधको मूल्य प्रतिलिटर ७९ रुपैयाँ तोकियो

धनगढीमा दूधको मूल्य प्रतिलिटर ७९ रुपैयाँ तोकियो

डीडीसीले दूधको मूल्य बढाएसँगै निजी डेरीले पनि दूधको मूल्य बढाउने भएका छन्। आज एक संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने बताएका हुन्। 

नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघका अनुसार योसँगै अब उपभोक्ताले प्रतिलिटर दूधको मूल्य ८६ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

यसअघि अघिल्लो दिनमात्रै दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य ९ रुपैयाँ बढाएको थियो । त्योसँगै आजबाट ८५ रुपैयाँ प्रतिलिटर दूधको मूल्य कायम गरिएको थियो । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो। 

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीनथरि मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रुपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रुपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रुपैयाँ मूल्य कायम हुनेछ।

यसअघि काठमाडौँमा ७६ रुपैयाँ, बुटवल भैरहवामा ७२ रुपैयाँ र नेपालगञ्ज क्षेत्रमा ७० रुपैयाँ तोकिएको थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई रुपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन्।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो। त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।