२० लाख लुटेर व्यवसायीको हत्या गरेको आरोपमा ६ जना पक्राउ

२० लाख लुटेर व्यवसायीको हत्या गरेको आरोपमा ६ जना पक्राउ

व्यवसायी हत्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्रहरीले २ जना महिलासहित ६ जनालाई पक्राउ गरेको छ । माघ ८ गते कपिलवस्तु शुद्धोधन नगरपालिकाका ३५ वर्षीय विजय चौधरी रामग्राम नगरपालिका ९ मा मृत अवस्थामा फेला परेका थिए ।

जग्गा किन्नका लागि पश्चिम नवलपरासीको रामग्राम आएका चौधरीलाई रामग्राम नगरपालिका ३ का राजु भनिने मन्जुर आलम देवान र उनको श्रीमती हदिसुन नेसाले आफ्नै घरमा हत्या गरेर २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । चौधरीले काठमाडौँमा हार्डवेयर व्यवसाय गर्दै आएका थिए ।

हत्या गरेर भारतको गोरखपुरमा गएर लुकिछिपी बसेका मन्जुर र देवानलाई नवलपरासी प्रहरीको विशेष टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो । चौधरीको हत्या गरेर लुटेको रकम लुकाउन सहयोग गर्ने अन्य चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको हो ।

हत्या योजनामा साथ दिएको भन्दै रामग्राम नगरपालिका २ का शारदा देवी केवट, उनका श्रीमान् वसन्त कुमार सहानी, तलत अलि खान र जित बहादुर श्रेष्ठलाई पक्राउ गरेर अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । जग्गा कारोबारका लागि आउँदा आफ्नै साथीले घरमा लगेर माघ ७ गते चौधरीको हत्या गरेका थिए ।

पैसाको लोभमा परेर चिनजानको साथीको हत्या गरेर नालिमा फालेको र भारतमा गएर अभियुक्त लुकेको सूचना पाएपछि प्रहरीको विशेष टोली परिचालन गरेर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी मनोज कुमार यादवले बताउनुभयो ।