सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे सँगै कैलालीमा चुनावी सरगर्मी बढ्यो !

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे सँगै कैलालीमा चुनावी सरगर्मी बढ्यो !

धनगढी । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै कैलालीमा चुनावी सरगर्मी बढ्न थालेको छ । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेसँगै विभिन्न राजनीतिक दल निर्वाचनको तयारीमा लागेका हुन् । 

सो विषयमा प्रतिक्रिया दिँदै नेपाल एकीकृत समाजवादी (नेकपा एस)का नेता  विमल जोशीले सरकारको वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागत योग्य रहेको बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी सबैभन्दा ठुलो पार्टी रहेको दाबी गरेका छन् । “आगामी वैशाख ३० गते हुने भनिएको निर्वाचनलाई हामीले सकारात्मक रूपले लिएका छौँ । यसका लागी नेपाल कम्युनिस्ट एकीकृत समाजवादी एकदम तयार अवस्थामा छौँ । निर्वाचन समयमै सक्नुपर्छ ।” उनले भने । 

नेकपा एस त नयाँ पार्टी अरू पार्टीको भन्दा चुनौती बढी होला ? भन्ने प्रश्नको जवाफ दिँदै नेता जोशीले एमालेले गलत नीति लिइसके पश्चात् एमालेबाट विद्रोह गर्दै नेकपा एस भएको र अहिले जनताको वास्तविकता बोल्ने पार्टी नेकपा एस नै भएको दाबी गरेका छन् । “हामी काराकर्ताको तर्फबाट हेर्नु हुन्छ भने सुदूरपश्चिम प्रदेशमै ठुलो पार्टी हौँ । जनताको तर्फ कुरा गर्नु हुन्छ भने जनतामा हामी गई रहेका छौँ । अहिले हाम्रा वडा, गाउँ, नगर, उप-महानगर, जिल्ला, क्षेत्रीय लगायतका सबै कमिटी क्रियाशील नै छन् । हामी जनताको बिच मै छौँ । जन प्रतिनिधि पनि सबै भन्दा बढी हाम्रै पार्टीमा छन् । यसरी नै हामी जनताको बिचमा गइरहेका छौँ ।” उनले भने ।

यस्तै, नेकपा माओवादी केन्द्रका पूर्व धनगढी उप-महानगर इञ्चार्ज तथा प्रदेश कमिटी सदस्य निर्मल शाहले सरकारको निर्णयको स्वागत गर्दै अरू पार्टीहरू विचार विहीन भइराख्दा खेरी आफ्नो पार्टीले सबै नेता कार्यकर्ता लाई समेटेर स्थानीय निर्वाचनमा जाने बताए । “सरकाले गरेको निर्णय स्वागत योग्य र ऐतिहासिक निर्णय रहेको छ । पार्टीलाई एकरूपताका साथ माओवादी केन्द्रलाई देशको एक नम्बर पार्टी बनाउने उद्देश्यका साथ विभिन्न रणनीति बनाएर अगाडी बढ्छौँ ।” उनले भने । 

कैलालीमा माओवादी केन्द्रको जित्ने आधार के हो ? भन्ने प्रश्नको जवाफ दिँदै  नेता शाहले जित्ने आधार मुद्दा, एजेण्डा भएको र अहिले देश माओवादीको मुद्दा र एजेण्डामा चलिरहेको दाबी गरे । “अरू पार्टीहरूमा विचार एजेण्डाको खडेरी परिरहेको बेला देश माओवादी केन्द्रको एजेण्डा र मुद्दामा चलिरहेको छ । अगाडी बढी रहेको छ । सबैको आशा र भरोसाका रूपमा माओवादी केन्द्र अगाडी बढिरहेको छ । यसरी हेर्दा जनताले माओवादीलाई अग्रस्थान दिलाउने छन् भन्नेमा हामी विश्वस्त छौँ ।” उनले भने । 

त्यस्तै, नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति प्रकाश बमले अरू पार्टीहरूले सरकारले चलाउँदा जनताले पाएको दुख सम्झिँदै काँग्रेस नै अबको वैकल्पिक शक्ति भएको दाबी गरेका छन् । उनले कैलाली काँग्रेस गएको निर्वाचनमा भएका कमी कमजोरी समेत सुधार गर्दै जनताको माझमा जाने बताए । “कैलाली काँग्रेस स्थानीय निर्वाचन हुन्छ भन्ने मानसिकता सकारात्मक रूपमा बसिसकेका थियौँ । गएको निर्वाचनमा भएका कमी कमजोरीहरू लाई मूल्याङ्कन गर्दै कमी कमजोरी हरूलाई सुधार्दै जिल्लाभर ८० प्रतिशत बढी स्थानमा जित हासिल गर्ने उद्देश्य र तारीका साथ हिनेकाछौं ।” उनले भने । 

अब जनताको माझमा कसरी जानु हुन्छ, कैलाली काँग्रेसका तयारीहरू के-के छन् ? भन्ने प्रश्नको जवाफ दिँदै नेता बमले जनताका माझमा जानको निम्ति आफूहरू सँग प्रशस्त एजेण्डा रहेको दाबी गरेका छन् । “विगतका दुई तिहाइ को पुग नपुग भएको सरकारले समेत गरेका काम कारबाही हरू र बिचैमा सरका छोडेर नेपाली काँग्रेसलाई सरकारका निम्ति गुहार्नु पर्न भएका अवस्थाहरू र आगामी दिनहरूमा नेपाली काँग्रेसले गर्ने र गर्नु पर्ने विकाश निर्माणका कामहरू का एजेण्डाहरु समेत लिएर हामीहरू जनताको माझमा जान्छौँ ।” उनले भने । 

यसै गरी, नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन ब. थापाले दबाब पश्चताका सरकारले निर्वाचनको मिति घोषणा गरेको भए पनि सो निर्णय स्वगत योग्य रहेको बताए । अरू पार्टीले सरकार चलाएका ३० वर्ष र एमाले ले ३ वर्ष सरकार चलाउँदा के कति विकास र राष्ट्रको हितमा काम भयो त्यति दाँजे पुग्ने बताउँदै थापाले नेकपा एमाले जनताका मुद्दा लिएर जनतामाझ खुसी भएर जाने बताए । “सरकारले दबाबका बाबजुद निर्वाचन घोषणा गर्‍यो सुरुमै घोषणा गरेको भए सन्देश राम्रो जाने थियो । ढिला भए पनि हामीले धन्यवाद नै दिनु पर्‍यो । हाम्रो तयारी पहिलेबाटै छ । हरेक पार्टीले जित्ने नै भनेर लाग्ने हुन् । अझ नेकपा एकाले वडा देखी केन्द्र सम्म सबै राम्रो नै छ । हामी जित्ने तयारी मै छौँ । यो भन्दा पनि अझै राम्रो हुने थियो । तर हाम्रो पार्टीका केही नेताहरू लोभी पापी भएर बिगारे । तर जनता भने लोभी पापी छैनन् । जनताले यो माहौलमा सबैलाई चिन्ने मौका पाए र यो सबै माहौल हेर्दा जनता सचेत भइसकेका छन् जसले गर्दा जनताले सही निर्णय लिएर एमाले लाई नै जिताउने छन् भन्नेमा हामी ढुक्क छौँ ।” उनले भने ।

कैलालीमा नेकपा एमालेको जित्ने आधार के हो ? भन्ने प्रश्नको जवाफ दिँदै नेता थापाले एक शब्दमा भन्नु पर्दा नेपालको इतिहासमा विकास निर्माणका कामका आधारमा विगतका ३० वर्ष र एमालेले सरकार चलाएको ३ वर्ष दाँजे पुग्ने दाबी गरे । “विकासको सुरुवात नै हामीले गरेका छौँ । गाउँ-गाउँ मा पिच भन्ने के थियो अवस्था मान्छे ले पिच के हो भनेर हेर्ने गर्थे । अहिले गाउँ टोलका २ सय फुटका बाटाहरू पनि पिच हुँदै गइरहेका छन् । मेरै क्षेत्रमा ३ वर्षको अवधिमा ३२ वटा स्कुलहरू बनेका छन् । वडामा देश भरी र लम्की चुहामा दश वटै वडाका १० स्थानमा अस्पतालहरू छन् । प्रत्येक नगरपालिकामा ५० शय्याका ३०/३० शय्याका अस्पतालहरू बनिराखेका छन् । नगरपालिकाका भवनहरू ५ करोड देखी ९ करोडमा बनिराखेका छन् । यसले सरकारमा राम्रो व्यक्ति गए भने पैसा त आउँदो रहेछ भन्ने देखियो जनताले थाहा पाए । हिजो सम्म बैङ्कका म्यनेजरहरु घर घरमा आएर ६,८,९ प्रतिशतमा ब्याजदर मा पैसा व्याजमा दिन्छौँ भन्थे । पैसा लगानी गरिदिनु पर्‍यो भन्थे । तर अहिले एमाले सरकारबाट बाहिरिएपछि बैकमा गयो भने १० लाखको चेक साटिने अवस्था छैन। अहिले ठुला-ठुला व्यापारीहरूको तहसनहस भएको अवस्था छ । यो हेर्दा देउवाले सरकार चलाउँदा देशको हालत के र एमालेले ३ वर्ष चलाउँदा के थियो स्पष्ट छ । अहिले किसानको हालत त्यही छ ।”

राष्ट्रिय मुद्दामा पनि एमाले पछाडि हटेन भारत सँग कसैले बाल्ने गरेका थिएनन् हाम्रो पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको बलेला संसद्को रोष्टम बाट नै सत्यदेव जयते कि सिंह देव जयते भनेर सोध्ने कुरा हुन् या नेपालको पूर्ण चुच्चे नक्सा प्रकाशित गर्ने कुरा हुन एमाले आफ्ना मुद्दामा राष्ट्रियताको सवालमा अडिक छ । उनले भने । 

त्यस्तै, अध्यक्ष थापाले सुदूरपश्चिम प्रदेशबाट एक पक्ष छुट्टिएको छ । त्यसले आगामी चुनावमा कत्तिको धक्का पुग्छ ? भन्ने प्रश्नको जवाफ दिँदै केही मान्छेहरू पदका लागी मन्त्री बन्नका लागी नेताहरू बाहिरिएको हुनाले त्यसले खासै समस्या नहुने दाबी गरे । “नेताहरू पदका लागी मन्त्री बन्नका लागी अलग्गिएका छन् । त्यसले खास्सै असर पार्दैन । जनता सँग ५ वर्षका लागी भोट माग्ने अनि बिचमै पार्टी समेत छोडेर भागेकाले ती व्यक्तिहरूलाई त जनताले पनि चिनेका छन् । त्यसको पनि बद्ला जनताले अवश्य लिन्छन् । नेता भई सके पश्चात् जनताको भावना अनुसार गर्नु पर्छ । तर यहाँ केहिव्यक्तिहरुले जनताको चाहना विपरीत गएर जनताको अपमान गरेका छन् । त्यसैले पनि जनता हाम्रै पक्षमा छन् । व्यक्तिहरू घट्दैमा केही फरक पर्दैन” उनले भने ।  

जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ । यसअघि दुई चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको समयावधि जेठ ५ गते सकिँदै छ ।