पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि चेल्सीको हातमा

पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि चेल्सीको हातमा

इंग्लिस क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

रियादमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीका लागि काई हाभार्टले ११७औं मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि खेलको ५४औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ६४औं मिनेटमा पाल्मेरसका राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा फर्काए ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ११७औं मिनेटमा हाभर्टले पेनाल्टीमा निर्णायक गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

यस्तै अतिरिक्त समयको अन्तिम समयमा  लुअन ग्रासियाले रातो कार्ड पाएपछि पाल्मेरस १० खेलाडीमा समेटिएको थियो ।

यसअघि सन् २०१२ मा पनि फाइनल पुगेको चेल्सी ब्राजिल क्लबसँगै पराजित हुँदै उपविजेता बनेको थियो ।

यस्तै चेल्सीले क्लब विश्वकपको उपाधि जित्ने तेस्रो इंग्लिस क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइटेडले २००८ र लिभरपुलले २०१९ मा क्लब विश्वकपको उपाधि जितेको थियो ।