जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन हुँदै

जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन हुँदै

धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ। जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । 

उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । 

रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो । 

अहिले रेल धनुषाको इनर्वामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । रेलको प्राविधिक अवस्था बुझ्न विना यात्रु दैनिक रेल गुडाउन लागेको र कुनै प्राविधिक समस्या देखिए सुधार गर्ने महाप्रबन्धक झाले बताउनुभयो । 

रेलकाे फागुनको दोस्रो हप्ता विधिवत् रुपमा उद्घाटन गर्ने तयारी छ ।