कैलालीसहित देशभरका विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु

कैलालीसहित देशभरका विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ ।

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।

१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसले गर्दा उनीहरुलाई आलोपालो गरेर पठनपाठन गर्ने सरकारले निर्णय गरेको हो ।

१२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी भइरहेको सरकारले जनाएको छ । गएको हप्ता कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

त्यही सिफारिसअनुसार विद्यालय खुल्न लागेका हुन् । यस्तै कैलालीमा पनि आजबाट विद्यालयमा भौतिक रुपमा पठनपाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आजदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।