टीकापुर नगरपालिकाले तोक्यो दूधको मूल्य, प्रतिलिटर कति ?

टीकापुर नगरपालिकाले तोक्यो दूधको मूल्य, प्रतिलिटर कति ?

टीकापुर । टीकापुर नगरपालिकामा दूध र दुग्धजन्य पदार्थको मूल्य निर्धारण गरिएको छ । टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले दूधको मूल्य निर्धारण गर्न गठन गरेको समितिले शुक्रबार मूल्य बढाउने निर्णय गरेको हो ।

अब टीकापुरको बजारमा उपभोक्ताले दूधका लागि प्रतिलिटर ७० रुपियाँ तिर्नुपर्नेछ भने किसानले फागुनदेखि साउनसम्म प्रतिलिटर ५९ रुपियाँ र भदौदेखि माघसम्म प्रतिलिटर ५८ रुपियाँ पाउनेछन् ।

डेरी सञ्चालकले खुद्रा मूल्यमा ११ देखि १२ रुपियाँ फाइदा पाउने भएका छन् । यसअघि किसानले प्रतिलिटर ५४ रुपियाँमा बेच्ने, डेरीले ११ रुपियाँ नाफा लिएर उपभोक्तालाई ६५ रुपियाँमा बेचिरहेका थिए ।

डेरी व्यवसायीले यसअघि एकपक्षीय रूपमा दूधको खरिद मूल्य ६० रुपियाँ र बिक्री मूल्य ७५ रुपियाँ तोकेपछि उपभोक्ता र किसानले नगरपालिका गुहारेका थिए ।

किसानको उत्पादन लागत र कच्चा दूध खरिद बिक्रीमा डेरी व्यवसायीले पाउने मुनाफालाई हेरी मूल्य निर्धारण गरिएको र उपभोक्ताले पनि दुग्ध विकास संस्थानको भन्दा सस्तोमा दूध पाउने पशु सेवा शाखाका प्रमुख श्यामराज पाण्डेले बताउनुभयो ।

यसैगरी टीकापुरमा दूधको गुणस्तर पनि तोकिएको छ । दूधको गुणस्तर ४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ हुनेपर्ने र यो मापदण्ड पूरा भए गाई र भँैसीको दूध किनबेच गर्दा मूल्यमा विभेद नगरिने पाण्डेले बताउनुभयो ।

बढेको मूल्यअनुसार फागुन १ गतेदेखि दहीको अधिकतम खुद्रा मूल्य प्रतिलिटर १०० रुपियाँ, महीको ५० रुपियाँ, घिउ प्रतिकिलो एक हजार रुपियाँ, खुवा प्रतिकिलो ७०० रुपियाँ र छुर्पी प्रतिकेजी एक हजार रुपियाँ भएको छ ।

पशुपालक किसानका प्रतिनिधि ललित थापाले तोकिएको मूल्यले किसानको लागत नउठे पनि उपभोक्तालाई ध्यान राखेर समितिले निर्धारण गरेको मूल्यमा चित्त बुझाउनुपरेको बताउनुभयो ।