धनगढी मेयर एलपिएल-६ : लिटल फ्लावरलाई हराउँदै सत्यवती एकेडेमी विजयी

धनगढी मेयर एलपिएल-६ : लिटल फ्लावरलाई हराउँदै सत्यवती एकेडेमी विजयी

धनगढी । कैलालीको धनगढीमा सोमबार शुरु भएको १९ वर्षमुनिको विद्यालयस्तरीय ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’मा सत्यवती एकेडेमीले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको छैठौं संस्करणको उदघाटन खेलमा सत्यवती एकेडेमीले लिटल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गरेको हो।

सत्यवतीले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पूरै २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको ब्याटिङमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका निरज भट्ट र युवराज खत्रीले समान २/२ विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान १/१ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो। उसका लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए। यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए। लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए। प्रतियोगिताअन्तर्गत मंगलबार २ खेल हुनेछन्। पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो गुरुकुल मेडियम स्कुल र स्टेपिंग स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि प्रतियोगिताको धनगढीका मेयर नृपबहादुर वडले उदघाटन गरेका थिए। आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्यकारी निर्देशक रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउन ६ वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको बताए।