एमसीसीबारे भ्रम चिर्न आफ्ना सांसदलाई कांग्रेसको आग्रह

एमसीसीबारे भ्रम चिर्न आफ्ना सांसदलाई कांग्रेसको आग्रह

अमेरिकी सहयोग सम्बन्धि सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे भ्रम चिर्न सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आग्रह गरेको छ। 

मंगलबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे बोल्दै नेताहरुले जनतामा पुगेर भ्रम चिर्न आग्रह गरेका हुन्। 

सांसद नरहेका कांग्रेस नेता डा रामशरण महतले एमसीसीबारे बैठकमा ब्रिफिङ गरेका थिए। बैठकमा बोल्ने अन्य नेताले पनि एमसीसीबारे नागरिकमा व्याप्त भ्रम चिर्नका लागि लाग्नु पर्ने बताएका थिए। 

पूर्व अर्थमन्त्री मतले एमसीसी सैन्य रणनीति नभइ विकास परियोजना रहेको ब्रिफिङ गर्दै यसबारे अनावश्यक भ्रम फैलाइएको सांसदहरुलाई बताएका थिए। 

कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालै एमसीसी संसदबाट पास गर्ने पक्षमा रहेका छन्। उनले सत्ता गठबन्धनमा समेत एमसीसी पास गर्न सहमति जुटाउन प्रयास गरिरहेका छन्।तर एमसीसी पास गर्न नहुँने भन्दै नागरिक स्तरमा समेत बिरोध भइरहेको छ।