कसैले नेपाललाई कब्जा गर्न सक्दैन,एमसीसी पारित गर्न ढिला गर्नु हुँदैनः सुजाता कोइराला

कसैले नेपाललाई कब्जा गर्न सक्दैन,एमसीसी पारित गर्न ढिला गर्नु हुँदैनः सुजाता कोइराला

नेपाल कांग्रेसकी नेत्री सुजाता कोइरालाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसद्बाट पारित गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएकी छन्।

नयाँबानेश्वरस्थित संसद् भवनमा मंगलबार सञ्चारकर्मीसँग कोइरालाले भनिन्, “एमसीसी पास गर्न ढिलो गर्नु हुँदैन, यसरी आएको अनुदान भन्नु हुँदैन, त्यसो गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ र नेपाललाई धेरै नै क्षति पुग्छ।”

नेपालमा विकास नचाहनेले एमसीसीको बारेमा अफवाह फैलाएको कोइरालाको भनाइ छ। “कसैले नेपाललाई कब्जा गर्न सक्दैन,” उनले भनिन्, “जनताले कब्जा गर्न दिंदैनन् पनि। हामीले यत्रो विदेशी सहयोग लियौं, तर कब्जा गर्न सक्यो त ? सकेन नि।”

कोइरालाका अनुसार, सरकारका पुगेका सबै दलको संलग्नतामा एमसीसी सम्झौता भएको हो।

२०७४ भदौमा नेपाल र अमेरिकाबीच विद्युत् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति गर्न एमसीसी अन्तर्गत ५० करोड डलर अनुदान पाउने सम्झौता भए पनि संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयनमा जान सकेको छैन।