कार्यव्यवस्था समितिको बैठकमा एमाले नजाने

कार्यव्यवस्था समितिको बैठकमा एमाले नजाने

सभामुख अग्नीप्रसाद सापकोटाले बुधबारका लागि बोलाएको  प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ ।

पार्टीको कामको व्यस्तताले उक्त बैठकमा जान नभ्याइने एमाले सांसद एवं कार्यव्यवस्था समिति सदस्य खगराज अधिकारीले बताए । 

सभामुख सापकोटाले बुधबार १ बजे बस्न लागेको बैठकको कार्यसूची तय गर्न साढे ११ बजे कार्यव्यवस्थाको बैठक बोलाएका छन् ।

कार्यव्यवस्था समितिको बैठकमा सरकारको तर्फबाट कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी प्रस्तुत गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

एमाले सांसद अधिकारीले भने‚ ‘हाम्रा माग यथावत् छन् । कार्यव्यवस्थामा जानु र नजानुको अर्थ छैन ।’ त्यस्तै कार्यव्यवस्था समिति सदस्य कृष्णभक्त पोखरेलले भने‚ ‘हामीले सभामुखलाई राजीनामा गर्न भनेका छौं ।

हाम्रा माग सम्बोधन नगरेकाले सभामुखलाई नै नमानेको र राजीनामाको माग गर्दै आएकाले उहाँले बोलाएको बैठकमा नजानका लागि निर्देशन छ । सदनमा हाम्रो अवरोध भने जारी रहन्छ ।’